काठमाडौं । निर्वाचन आयोग का अनुसार प्रतिनिधि सभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले देशभरबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा यस्तो अनुमान गरिएको जानकारी दिए। उनका अनुसार मतपरिणामसम्बन्धी सम्पूर्ण विवरण अझै संकलन भइरहेको छ।
यस निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका थिए। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य मतदाता रहेका थिए।
निर्वाचन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगले करिब ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो।
आयोगका अनुसार केही छिटपुट घटनाबाहेक मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन्।
हाल देशका विभिन्न स्थानबाट मतपेटिका संकलन गर्ने कार्य जारी रहेको छ। दुर्गम क्षेत्रमा रहेका १५ जिल्लाबाट भने हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी भइरहेको आयोगले जनाएको छ।